Responsive image
Responsive image
चुरे संरक्षण दिवस २०७७ असार २ को नारा " चुरेको माटो चुरेलाई , सफा पानी सबैलाई ।"

समिति गठनको पृष्ठभूमि :

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।

औलो उन्मुलन पश्चात चुरे तथा भावर क्षेत्रमा मानव वस्तिहरु विस्तार हुँदै गयो । तत्पश्चात आवादी र खेतीका लागि वन जंगल फाँड्ने क्रम क्रमशः बढेर गयो । वन फडानी, वन पैदावारको अत्यधिक प्रयोग, खुला चरिचरन, अवैज्ञानिक भू–उपयोग आदि जस्ता कारणले यस क्षेत्रको जैविक विविधता तथा जमीनको उत्पादकत्वमा ह्रास आएको छ जसले गर्दा यस क्षेत्रको समग्र पारिस्थितिकीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ । चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै गएकाले तराई–मधेशमा थुप्रै वातावरणीय समस्याहरु देखा पर्दै जानुको साथै पानीको स्रोतहरु समेत सुक्दै गएका छन् । प्रायः बर्सेनी बाढीको प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो–माटो थुपार्ने तथा गाउँवस्तीहरु समेत कटान र डुबानले गर्दा प्रभावित हुने गरेका छन् । यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली थप कमजोर बन्न गई तराई–मधेशको जनजीवन अझै संकटग्रस्त बन्न सक्छ । नेपालको कुल जनसंख्याको करिव ५० प्रतिशत तराई मधेशमा बसोबास गर्छन् । यस कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ देखि चुरे संरक्षणलाई अभियानका रुपमा संचालन गर्न ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ प्रारम्भ गर्यो । चुरे संरक्षणको काम बहु–आयामिक, बहु–पक्षीय र बहु–सरोकारवालाहरुसंग सम्बन्धीत विषय भएकाले यसलाई समन्वयात्मक ढंगले संचालन गर्न नेपाल सरकारले २०७१ साल असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी “राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश २०७१” जारी गर्यो ।

Last modified: December 28, 2014